काठमाडौँ
विगत तीन दिनदेखि लगातार घट्दै आएको सुनको मूल्य आज भने व्यापक रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले वृद्धि भई २ लाख ९६ हजार १ सय रुपैयाँ पुगेको छ।
यसअघि सुनको मूल्य लगातार घट्दै आएको थियो। हिजो मात्र तोलामा १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९२ हजार ७ सय रुपैयाँमा झरेको थियो। बुधबार र मंगलबार पनि सुनको मूल्य तोलामा ३/३ हजार रुपैयाँले घटेको थियो। यसरी तीन दिनमा कुल ७ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ आज पुनः उकालो लागेको हो।
यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ। चाँदीको भाउ तोलामा १३५ रुपैयाँले वृद्धि भई ४ हजार ९४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यसअघि माघ १५ गते सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि सोही दिन ७ हजार ५०५ रुपैयाँ पुगेर उच्च विन्दुमा पुगेको थियो भने माघ १८ गते एकैदिन १ हजार ५६५ रुपैयाँले घट्दै हालसम्मकै ठूलो गिरावट देखिएको थियो।