काठमाडौँ
प्रतिपक्षी दलहरूले ९ बुँदे मागसहित सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतकहरूको संयुक्त बैठकले मुलुकको पछिल्लो राजनीतिक तथा सामाजिक अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएको हो।
बैठकमा प्रेमप्रसाद दंगाल, वासना थापा र युवराज दुलाल सहभागी थिए। उनीहरूले सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई विकल्प र उचित व्यवस्थापनबिना हटाउने कार्यप्रति आपत्ति जनाएका छन्। नागरिकको आवास अधिकार सुनिश्चित गर्दै सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
त्यस्तै, दाल, चामल, तरकारी र तेल लगायतका दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न तथा सुपथ मूल्यका पसल सञ्चालन गर्न पनि माग गरिएको छ। अन्तर्राष्ट्रिय कारणले रासायनिक मल अभाव हुन सक्ने भन्दै बर्खे सिजनका लागि समयमै मल आपूर्ति सुनिश्चित गर्न आग्रह गरिएको छ।
बैठकले झापा, मोरङ, सुनसरी, चितवन र काठमाडौंमा फैलिएको बर्डफ्लुका कारण प्रभावित किसानलाई तत्काल राहत र क्षतिपूर्ति दिनुपर्ने माग पनि अघि सारेको छ।
यसैगरी, पेट्रोलियम पदार्थको मूल्यवृद्धिले समग्र अर्थतन्त्रमा असर पारेको भन्दै आपूर्ति शृङ्खला व्यवस्थापन र उपभोक्तालाई राहत दिने प्याकेज ल्याउन सरकारसँग माग गरिएको छ।
त्यसैगरी, आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा प्रतिपक्षलाई बेवास्ता गरिएको भन्दै सबै सरोकारवालाको सहभागितामा पारदर्शी र समावेशी प्रक्रिया अपनाउन पनि विपक्षी दलहरूले जोड दिएका छन्।