काठमाडौँ
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ मा सम्पन्न निर्वाचनप्रति शंका व्यक्त गरेका छन्। निर्वाचन सम्पन्न भएको करिब दुई महिना पुग्न लाग्दा उनले विभिन्न स्थानबाट प्राप्त भएका परिणामहरू स्वाभाविक नभएको बताएका हुन्।
पश्चिमी रूकुम पुगेका प्रचण्डले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै पार्टीले निर्वाचनको गम्भीर समीक्षा गरेको जानकारी दिए। उनका अनुसार समीक्षा निष्कर्षले उक्त निर्वाचन सामान्य नभई केही हदसम्म असामान्य र अस्वाभाविक देखिएको देखाएको छ।
उनले विभिन्न स्थानबाट प्राप्त रिपोर्टहरू उद्धृत गर्दै कतिपय ठाउँमा उम्मेदवारले आफैँ हालेको मतसमेत गणनामा नदेखिएको गुनासो आएको बताए। त्यसैगरी, अपेक्षा नगरेका स्थानमा अप्रत्याशित मत प्राप्त हुनु र सुरक्षित मानिएका मतहरू अन्तिम समयमा हराएको जस्ता विषयहरू पनि उठेका उनले उल्लेख गरे।
यी सबै आधारहरूलाई ध्यानमा राख्दै थप अध्ययन र गम्भीर अनुसन्धान आवश्यक रहेको निष्कर्षमा पार्टी पुगेको प्रचण्डले बताए। उनले निर्वाचन प्रक्रियामाथि स्पष्टता ल्याउन सम्बन्धित निकायहरूले ध्यान दिनुपर्ने पनि जोड दिए।
यद्यपि, निर्वाचनमार्फत आएको जनमत र राष्ट्रिय स्वतन्त्र पार्टीको सफलतालाई भने आफ्नो पार्टीले स्वीकार गरेको उनले स्पष्ट पारे। आगामी दिनमा सरकारका सकारात्मक कामहरूमा सहयोग रहने तर कमजोरीहरूमा सशक्त आलोचना गर्ने नीति लिइएको पनि उनले बताए।