काठमाडौँ
शेर बहादुर देउबा नेतृत्वको नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनपछि गुटगत विभाजन अझ स्पष्ट रूपमा देखिन थालेको छ। पहिले संस्थापन र डॉ. शेखर कोईराला समूह गरी दुई धार देखिएको पार्टी अहिले तीन गुटमा विभाजित भएको छ।
विशेष महाधिवेशनअघि संस्थापन पक्षमा रहेका नेताहरू अहिले देउवा समूहका रूपमा सक्रिय छन्। उक्त समूहले महाराजगञ्जस्थित स्मार्ट होटलमा भेला समेत आयोजना गरिरहेको छ, जहाँ पार्टीको आगामी रणनीति र आन्तरिक समन्वयका विषयमा छलफल भइरहेको जनाइएको छ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा हाल संस्थापन पक्षमा छन्। उनीहरूको नेतृत्वमा भइरहेका गतिविधिहरू अहिले पार्टीका आधिकारिक निर्णय र कार्यक्रमका रूपमा अगाडि बढिरहेका छन्।
यता, डा. शेखर कोइराला भने केही समय देउवा समूहसँग सहकार्य गरे पनि पछिल्लो समय पुनः आफ्नै गुटलाई सक्रिय बनाउनतर्फ लागेका छन्। विशेष महाधिवेशनको वैधता सम्बन्धी विवादमा उनी देउवा समूहसँगै निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुगेका थिए।
सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि भने कोइरालाले आफ्नो पुरानो समूह पुनः संगठित गर्ने प्रयास थालेका हुन्। यसै क्रममा उनले बागमती प्रदेशका आफ्ना पक्षका नेताहरूको भेला बोलाएका छन्। सो भेलामा आगामी राजनीतिक रणनीति र संगठन विस्तारबारे छलफल हुने जानकारी जीवन परियार ले दिएका छन्।