काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री दीपक कुमार साहले सरकारले सिफारिस गरेको अध्यादेशको बचाउ गरेका छन्। बुधबार संसदीय दलको बैठकमा सहभागी हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यादेशलाई संवैधानिक अधिकारको प्रयोगका रूपमा व्याख्या गरे।
साहले संविधानमै अध्यादेश जारी गर्ने व्यवस्था रहेको उल्लेख गर्दै प्रशासनिक कार्यलाई सहज बनाउन सरकारले यस्तो कदम चाल्न सक्ने बताए। उनले जनअपेक्षा पूरा गर्न र सरकारको सार्वजनिक गरिएको सय दिने कार्ययोजना कार्यान्वयन गर्न अध्यादेश आवश्यक भएको तर्क गरे।
उनका अनुसार सरकार द्रुत गतिमा अघि बढिरहेको र सय दिनभित्र तोकिएका कार्यसूची पूरा गर्नुपर्ने दायित्व रहेको छ। जनताका अपेक्षा र पार्टीको म्यान्डेट पूरा गर्न विशेष पहल आवश्यक हुने भन्दै उनले अध्यादेशलाई त्यसैको एक माध्यमका रूपमा व्याख्या गरे।
पूर्वमन्त्री साहले जनताले पाँच वर्षका लागि दिएको म्यान्डेटअनुसार सरकारले संविधानले दिएको अधिकार प्रयोग गर्न सक्ने पनि बताएका छन्।