काठमाडौँ
पर्यटन विभागले सगरमाथा आधार शिविरमा ट्रेकिङ एजेन्सीहरूले ‘ओभरनाइट स्टे’ (रातको बास) सहितका प्याकेज बिक्री गरिरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ। विभागले प्रचलित कानुन विपरीत हुने यस्ता प्याकेजको विज्ञापन र बिक्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
केही ट्रेकिङ एजेन्सीहरूले आधार शिविरमा पर्यटकलाई रात बिताउने गरी गैरकानुनी रूपमा प्याकेज बिक्री गरिरहेको गुनासो आएपछि विभागले सबै सम्पर्क अधिकृत र ट्रेकिङ एजेन्सीहरूलाई नियम पालना गर्न सचेत गराएको हो।
पर्वतारोहण सम्बन्धी नियमावली २०५९ अनुसार सगरमाथा आधार शिविरमा केवल पर्वतारोही दलका सदस्य, पर्वतीय पथप्रदर्शक, उचाइमा काम गर्ने कामदार तथा स्थानीय कामदारहरू मात्र बस्न पाउने व्यवस्था छ। अन्य व्यक्तिलाई विभागको पूर्वस्वीकृति बिना आधार शिविरमा बस्न अनुमति छैन।
विभागले पर्वतारोही टोली बाहेकका पर्यटकलाई रात बिताउने गरी प्याकेज बिक्री गर्नु कानुन विपरीत रहेको स्पष्ट पारेको छ। साथै, यस्ता गतिविधि रोक्न कडाइका साथ अनुगमन गरिने चेतावनी पनि दिएको छ।
विभागले कानुन उल्लङ्घन भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने जनाएको छ। सगरमाथा आधार शिविरमा रहेको अस्थायी फिल्ड कार्यालयलाई समेत निगरानी बढाउन निर्देशन दिइएको छ।
