काठमाडौँ
पछिल्ला दुई दिनमा सुनको मूल्यमा लगातार गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस अवधिमा सुन तोलामा ६ हजार रुपैयाँसम्म घटेको छ।
महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन ३ हजार रुपैयाँ घटेर २ लाख ९७ हजार ५ सयमा कारोबार भएको सुन, त्यसअघि सोमबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत बुधबार पनि सुन ३ लाख ५ सय रुपैयाँमै कारोबार भएको थियो।
यसअघि गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड रहेको छ। त्यसयता सुनको मूल्यमा क्रमशः गिरावट देखिँदै आएको छ।
त्यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँले घट्दै चाँदी आज ४ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो भने गत बुधबार ५ हजार १३० रुपैयाँसम्म पुगेको थियो।
सुन–चाँदीको मूल्य लगातार घट्दै गएपछि बजारमा यसको प्रभावबारे चासो बढेको छ।