काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका निवर्तमान प्रमुख सचेतक महेश बर्तौला ले प्रतिनिधिसभाको प्रस्तावित नियमावली मस्यौदामा रहेका केही प्रावधानप्रति आपत्ति जनाएका छन्। उनले सांसदहरूलाई कानुनभन्दा माथि राख्ने खालका व्यवस्था अस्वीकार्य हुने बताएका छन्।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रस्तावित नियमावलीको नियम २५९ मा रहेको व्यवस्था संविधान र प्रचलित संघीय कानुनसँग बाझिने देखिएको बर्तौलाको टिप्पणी छ। उक्त प्रावधानमा सभा, समिति र सदस्यका हकमा नियमावली विशेष कानुन सरह लागू हुने उल्लेख गरिएको छ।
बर्तौलाका अनुसार नियमावली मूलतः संसद्को आन्तरिक कार्य सञ्चालन र व्यवस्थापनका लागि बनाइने कार्यविधि मात्र हो र यसले प्रचलित कानुनलाई प्रतिस्थापन गर्न सक्दैन। संविधानले दिएको सीमाभित्र रहेर मात्र नियमावली बनाइनुपर्ने उनको भनाइ छ।
उनले सांसदहरूलाई कानुनी दायित्वबाट उन्मुक्ति दिने वा प्रचलित कानुनभन्दा माथि राख्ने प्रयास लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत हुने बताए। यस्तो व्यवस्था संसदीय परम्परा र संविधानको मर्मसँग मेल नखाने उनको धारणा छ।
बर्तौलाले नियमावलीलाई थप परिष्कृत गरी पारदर्शी र प्रभावकारी बनाउन सकिने भए पनि संविधान र कानुनलाई ओझेलमा पार्ने प्रावधान स्वीकार्य नहुने स्पष्ट पारेका छन्।