काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दामा आरोपपत्र संशोधनसम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ।
आजका लागि पूर्ण इजलासमा पेसी तोकिएको भए पनि सरकारी वकिलको आग्रहमा सुनुवाइ स्थगित गरिएको हो। उक्त रिट निवेदन सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर गरिएको थियो।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले चैत १५ गते यो विषयमा गम्भीर संवैधानिक तथा कानुनी व्याख्या आवश्यक रहेको भन्दै मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।
इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार ‘थप प्रमाण’ को व्याख्या र अभियोग संशोधनको कानुनी आधारबारे स्पष्टता आवश्यक रहेको उल्लेख गरेको थियो। साथै, जिल्ला अदालतको अधिकार क्षेत्र र सर्वोच्च अदालतको हस्तक्षेपको सीमा सम्बन्धी प्रश्न पनि पूर्ण इजलासले निरूपण गर्नुपर्ने भनिएको थियो।