काठमाडौँ
गृहमन्त्री सुदन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। उनले विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानीलगायत विषयमा उठेका प्रश्न र आलोचनालाई सम्बोधन गर्दै नैतिकताको आधारमा पदत्याग गरेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आजकै मितिदेखि लागू हुने गरी पदबाट अलग भएको जानकारी दिएका हुन्। चैत १३ गतेदेखि गृह प्रशासनको जिम्मेवारी सम्हालेका गुरुङले सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।
उनले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो हुने उल्लेख गर्दै हालको जेन–जी आन्दोलनले सार्वजनिक पदमा स्वच्छता आवश्यक रहेको सन्देश दिएको बताए। उनले आफ्ना ४६ जना सहकर्मीहरूको बलिदानको आडमा बनेको सरकारप्रति उठ्ने प्रश्नको जवाफ नैतिकताबाट दिनुपर्ने धारणा राखे।
गुरुङले आफूविरुद्ध उठेका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र पदमा रहँदा स्वार्थको द्वन्द्व नहोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्।
राजीनामासँगै उनले केही सञ्चारकर्मीहरूमाथि पनि टिप्पणी गर्दै नैतिकताको प्रश्न उठाएका छन्। साथै, परिवर्तन चाहने हो भने सबैले सत्य, इमानदारी र आत्मशुद्धिको बाटो अपनाउनुपर्ने भन्दै आम नागरिक र युवालाई अपिल गरेका छन्।