काठमाडौँ
ललितपुरमा वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा अन्तर्गत आज गाबहालदेखि मंगलबजारसम्म रथ तानिने कार्यक्रम रहेको छ। यस अवसरमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेर पूजा–आराधना गरिरहेका छन्।
मंगलबार पुल्चोकबाट रथ तान्दै गाबहाल पुर्याइएको थियो। रथयात्रा क्रममा पुल्चोकदेखि गाबहालसम्मको यात्रा भव्य र उत्साहजनक बनेको स्थानीयले बताएका छन्। आज गाबहाल क्षेत्रमा स्थानीय समुदायको विशेष ‘जात्रा’ पनि मनाइँदैछ, जसमा बिहानदेखि नै श्रद्धालुहरूको उपस्थिति बाक्लो रहेको छ।
परम्पराअनुसार गाबहालमा दिनभरि पूजा तथा जात्रा सञ्चालन हुने गर्दछ। स्थानीय जात्रा सम्पन्न भएपछि अपराह्न रथलाई मंगलबजारतर्फ तानिने कार्यक्रम तय गरिएको छ। पाटनको यो रथयात्रा नेपालकै लामो तथा महत्वपूर्ण धार्मिक जात्रामध्ये एक मानिन्छ।
धार्मिक विश्वासअनुसार रातो मत्स्येन्द्रनाथको पूजा गर्दा उपत्यकामा वर्षा र सहकाल हुने मानिन्छ। मंगलबजार पुर्याइएपछि रथ केही दिन त्यहीँ राखिने र त्यसपछि अन्य स्थानमा सारिने परम्परा रहेको छ।