काठमाडौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीभित्र देखिएको आन्तरिक विवाद र अनुशासनसम्बन्धी विषयमा छलफल गर्न अनुशासन समितिको बैठक बोलाएको छ। बैठक सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको समितिका सदस्य भक्ति सिटौलाले जानकारी दिएका छन्।
बैठकमा पार्टीभित्र देखिएका विभिन्न अनुशासन उल्लंघनका विषयमा छलफल गरी आवश्यक निर्णय लिइने बताइएको छ। पछिल्लो समय पार्टीभित्र बढ्दो असन्तुष्टि र विवादका कारण यो बैठकलाई विशेष चासोका साथ हेरिएको छ।
पार्टीभित्र इतर समूहले अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन्। यसले पार्टीभित्र असहज स्थिति सिर्जना गरेको बताइन्छ।
त्यस्तै, महामन्त्री धवलशमशेर राणाले जेठभित्र महाधिवेशन नगरे पार्टी संकटमा पर्ने चेतावनी दिएपछि विवाद झनै चर्किएको छ। यही पृष्ठभूमिमा अनुशासन समितिको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।