काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गृहमन्त्री सुदन गुरुङलाई कारबाही गर्ने विषयमा आन्तरिक छलफल सुरु भएको छ। उनीमाथि लागेको आरोपबारे छानबिन गर्ने विषयमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालबीच सोमबार बिहान छलफल भएको स्रोतले जनाएको छ। सो विषयमा थप निर्णय लिन सोमबार दिउँसो ३ बजे बस्ने केन्द्रीय समिति बैठकमा विस्तृत छलफल हुने तयारी गरिएको छ।
गृहमन्त्री बनेको छोटो समयमै गुरुङको नाम सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका विवादास्पद व्यापारी दीपक भट्ट तथा शंकर ग्रुपसँग व्यवसायिक सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि विवाद चर्किएको हो। प्रहरी हिरासतमा रहेका भट्टसँग उनको सम्बन्ध रहेको समाचार बाहिरिएपछि गुरुङको चौतर्फी आलोचना भइरहेको छ।
पार्टी स्रोतका अनुसार, यस विषयमा छानबिन कसरी अघि बढाउने र आवश्यक कारबाही प्रक्रिया के हुने भन्नेबारे प्रारम्भिक छलफल भइसकेको छ। केन्द्रीय समिति बैठकको निर्णयपछि मात्र औपचारिक रूपमा छानबिन प्रक्रिया अगाडि बढाइने बताइएको छ। अनुशासन आयोगले पनि यसमा समानान्तर रूपमा प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
महामन्त्री बुर्लाकोटीले गुरुङको लगानी कानुनी हो वा होइन भन्ने विषयमा सम्बन्धित पक्षसँग सोधपुछ गरेर निष्कर्षमा पुगिने बताएका छन्। उनले सरकार स्वयंले पनि यस विषयमा अनुसन्धान गर्ने विश्वास व्यक्त गर्दै दोषी प्रमाणित भएमा जोसुकै भए पनि कारबाही हुने स्पष्ट पारे।
यसअघि पनि पदीय दुरुपयोगसम्बन्धी आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहविरुद्ध अनुशासन समितिले कारबाही सिफारिस गरेको थियो। सोही आधारमा प्रधानमन्त्री बालेन शाहले साहलाई पदमुक्त गरेका थिए।