काठमाडौँ
नेपाली काँग्रेसले संविधान संशोधनसम्बन्धी अध्ययन तथा सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ। पार्टीले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा १६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन गरेको हो।
पार्टी केन्द्रीय कार्यसमितिको चैत ११ गतेको निर्णयअनुसार गठन गरिएको समितिमा वरिष्ठ अधिवक्ता तथा कानुनविद्हरूलाई समेटिएको छ। समितिले संविधानको कार्यान्वयनका क्रममा देखिएका समस्या अध्ययन गरी आवश्यक सुझाव दिनेछ।
समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी र ललितकुमार बस्नेत सदस्य रहेका छन्।
त्यसैगरी अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक पनि समितिमा सदस्य रहेका छन्। समितिको सदस्य–सचिवको जिम्मेवारी अधिवक्ता राजु कटुवाललाई दिइएको छ।
कांग्रेसले संविधान जारी भएको १० वर्ष पुगेको सन्दर्भमा यसको अभ्यासका क्रममा देखिएका समस्या पहिचान गरी सुधारका लागि सुझाव दिन यो समिति गठन गरिएको जनाएको छ।