काठमाडौँ
नेपाल आयल निगमले कच्चा तेलको मूल्यसँग मात्र तुलना गरेर इन्धनको मूल्यबारे गलत बुझाइ नफैलाउन आग्रह गरेको छ। निगमले नेपालले कच्चा तेल नभई प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले मूल्य तुलना गर्दा पनि प्रशोधित इन्धनकै अन्तर्राष्ट्रिय मूल्यलाई आधार मान्नुपर्ने स्पष्ट पारेको छ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार नेपालमा आफ्नै रिफाइनरी नहुँदा पेट्रोल र डिजेल जस्ता इन्धन सोझै आयात गर्नुपर्ने अवस्था छ। उनका अनुसार कच्चा तेलभन्दा प्रशोधित इन्धन स्वाभाविक रूपमा महँगो हुने भएकाले केवल कच्चा तेलको मूल्यसँग तुलना गर्नु उपयुक्त हुँदैन। नेपालले भारतको इन्डियन आयल कर्पोरेसन बाट इन्धन आयात गर्दै आएको छ, जसको मूल्य अन्तर्राष्ट्रिय बजारको औसतका आधारमा निर्धारण हुने गर्दछ।
निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो समय कच्चा तेल र प्रशोधित इन्धनबीचको मूल्य अन्तर पनि बढ्दै गएको छ। यसले प्रशोधित इन्धन आयात गर्ने देशहरूमा मूल्य दबाब थप बढाएको निगमको भनाइ छ।
यसैगरी भन्सार, कर, ढुवानी, बिमा, भण्डारण तथा अन्य सेवा शुल्कका कारण पनि देशअनुसार इन्धनको खुद्रा मूल्य फरक हुने भएकाले एकै आधारमा तुलना गर्नु सही नहुने निगमले स्पष्ट पारेको छ।