काठमाडौँ
नेपाली काँग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई पार्टी विधानअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। खड्काले पार्टीको आधिकारिक लेटरप्याड अनधिकृत रूपमा प्रयोग गरी विज्ञप्ति जारी गरेको भन्दै समितिले उनलाई ७ दिने स्पष्टीकरण सोधेको हो।
समितिका अनुसार यसअघि पनि खड्काको यस्तै गतिविधिलाई लिएर सचेत गराइएको थियो। तर चेतावनीको बेवास्ता गर्दै पुनः कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति जारी गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।
अनुशासन समिति संयोजक तारामान गुरुङले तोकिएको समयभित्र स्पष्टीकरण नआए विधानअनुसार कारबाही निष्कर्षमा पुर्याइने बताएका छन्। उनका अनुसार खड्कालाई स्पष्टीकरण दिन वा केन्द्रीय कार्यसमितिमा पुनरावेदन गर्न विकल्प दिइएको छ।
यसअघि पनि खड्काले पार्टीभित्रका विवादित विषयमा विज्ञप्ति जारी गर्नुका साथै बैठक बोलाएको भन्दै अनुशासन समितिले सचेत गराउने निर्णय गरेको थियो। तर पुनः सोही प्रकारको कार्य दोहोरिएपछि औपचारिक स्पष्टीकरण मागिएको हो।
समितिले अबको प्रक्रिया नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) अनुसार अगाडि बढ्ने स्पष्ट पारेको छ।