काठमाडौँ
मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईले सरकारविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाएको आरोप लगाउँदै वर्तमान राजनीतिक अवस्था प्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले संसद् प्रभावकारी प्रतिपक्षविहीन बनेको आरोप लगाए। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिपक्षी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको भए पनि उपसभामुख पद लिएर सरकारमै सहभागी भएपछि सदनमा सशक्त प्रतिपक्ष नरहेको उनको भनाइ थियो। सरकारका गतिविधिविरुद्ध बोल्नुपर्ने दलहरू नै मौन बसेको उनले टिप्पणी गरे।
प्रसाईँका अनुसार पछिल्लो निर्वाचनपछि अधिकांश दलहरू आन्तरिक संकटमा छन् र केही दलहरू फुटको अवस्थामा पुगेका कारण जनताको पक्षमा सशक्त आवाज उठाउन नसकिरहेका छन्। उनले सरकारको विकास कार्य सामाजिक सञ्जालमा मात्र सीमित रहेको आरोप पनि लगाए।
यसैक्रममा उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह प्रति पनि आक्रामक टिप्पणी गरे। तीन महिना मौन बस्ने प्रयास गरे पनि आफूले नबोली बस्न नसकेको उनको भनाइ थियो।
प्रसाईँले हिन्दु अधिराज्य स्थापना गर्ने, एसपीपी र एमसीसी सम्झौता खारेज गर्ने जस्ता एजेन्डा अघि बढाइएमा सरकारलाई समर्थन गर्न तयार रहेको पनि बताएका छन्। साथै, दुग्ध विकास संस्थानले किसानको करिब ९ अर्ब रुपैयाँ भुक्तानी नगरेको विषय उठाउँदै उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
त्यस्तै, सरकारले शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने घोषणा गरे पनि स्वास्थ्य बीमाअन्तर्गत करिब १९ अर्ब रुपैयाँ भुक्तानी नगरेको भन्दै उनले सरकारको प्रतिबद्धतामाथि प्रश्न उठाएका छन्।