काठमाडौँ
नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय गरेको छ। कच्चा पदार्थको मूल्यमा भएको उल्लेख्य वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न कठिन भएको भन्दै महासंघले मूल्य समायोजन गर्न बाध्य भएको जनाएको छ।
महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल, जार तथा जार क्यापजस्ता कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतसम्म बढेको उल्लेख गरिएको छ। साथै पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी खर्च पनि उल्लेखनीय रूपमा बढेको जनाइएको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तन, विशेषगरी इरान–इजरायल तनाव तथा इरान–अमेरिका सम्बन्धका कारण विश्व बजार र आपूर्ति प्रणालीमा परेको असरले नेपाली पानी उद्योगहरू पनि प्रभावित भएको महासंघले जनाएको छ।
महासंघले यो निर्णय नाफामूलक नभई बाध्यात्मक भएको स्पष्ट पार्दै उद्योगको दिगोपन, गुणस्तर कायम र नियमित आपूर्ति सुनिश्चित गर्न लागतअनुसार मूल्य समायोजन अपरिहार्य भएको जनाएको छ।
साथै, महासंघले सरकारसँग उद्योग सञ्चालन सहज बनाउन, कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न र ढुवानी लागत नियन्त्रणका लागि आवश्यक पहल गर्न माग गरेको छ। उपभोक्ता, वितरक तथा सम्बन्धित निकायलाई वर्तमान परिस्थितिलाई बुझेर सहयोग गर्न महासंघले अपिल समेत गरेको छ।
