काठमाडौँ
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग सम्बन्धित १२ वर्ष पुरानो र्याप ब्याटल हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी परेको छ। उक्त उजुरी पूर्व सभासद् सुनिलबाबु पन्तले दिएका हुन्।
पन्तले आफ्नो निवेदनमा शाहले ‘रअ बार्ज’ नामक प्लेटफर्ममा गरेको र्याप ब्याटलमा अश्लील तथा आपत्तिजनक शब्द प्रयोग गरिएको दाबी गरेका छन्। विशेषगरी उक्त गीतमा अन्यलिंगी समुदायलाई लक्षित गरी आपत्तिजनक अभिव्यक्ति प्रयोग गरिएको आरोप लगाइएको छ।
यस विषयमा साइबर ब्यूरोका एसपी दिलीप गिरीले उजुरीमाथि प्राविधिक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। उनका अनुसार ब्यूरोको प्राविधिक टोलीले सम्बन्धित सामग्रीको अध्ययन गरिरहेको छ।
उक्त र्याप ब्याटलमा प्रधानमन्त्री शाहसहित सहभागी युवाहरूले एकअर्कालाई लक्षित गर्दै ‘छक्का’ र ‘बलात्कार’ जस्ता शब्द प्रयोग गरेको उल्लेख गरिएको छ। पछिल्लो समय एक युट्युबरलाई प्रधानमन्त्रीविरुद्ध अश्लील अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेपछि सो पुरानो भिडियो व्यङ्ग्यात्मक रूपमा पुनः सामाजिक सञ्जालमा भाइरल भएको थियो।
हाल उक्त भिडियो युट्युबमा पुनः चर्चामा आएको र करिब १ करोड ५० लाख पटक हेरिएको बताइएको छ। यही कारण देखाउँदै उजुरकर्ता पन्तले उक्त सामग्री युट्युबबाट हटाउन माग गरेका छन्।