काठमाडौँ
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षभन्दा सानो आकारको बजेट ल्याउने तयारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु वर्षको बजेट संरचनाको समीक्षा गर्दै करिब ३५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने प्रारम्भिक गृहकार्य अघि बढाएको हो।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा ३८ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि आगामी वर्ष आन्तरिक राजस्व अपेक्षाअनुसार संकलन नभएकाले बजेट आकार घटाउनुपर्ने अवस्था आएको हो। यसअन्तर्गत मन्त्रालयहरूले बजेट सिलिङ बुझाइसकेका छन् र अनिवार्य दायित्व तथा बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राखिएको छ।
सरकारले आन्तरिक राजस्व वृद्धि गर्न विशेष योजना समेत अघि बढाएको छ। यातायात, वन, उद्योग र कृषि क्षेत्रलाई केन्द्रित गर्दै नयाँ राजस्व स्रोत पहिचान गर्ने र कर संरचना सुधार गर्ने तयारी गरिएको छ। यसका लागि विभिन्न उपसमितिहरू गठन गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको छ।
चालु आर्थिक वर्षमा चैत मसान्तसम्म प्रदेश सरकारले कुल बजेटको करिब ३४.३१ प्रतिशत मात्र खर्च गरेको छ। पुँजीगत खर्च ३२.३६ प्रतिशत र चालु खर्च ३७.२७ प्रतिशत रहेको छ। सरकारले बाँकी अवधिमा खर्च दर उल्लेख्य रूपमा बढ्ने दाबी गरेको छ।