भरत खड्का प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। समितिको शुक्रबार बसेको बैठकले उनी निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
उम्मेदवारी दर्ताका क्रममा खड्काको मात्रै नाम परेपछि उनी सभापतिमा चयन भएका हुन्। उनको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी रहेका थिए। सत्ता र विपक्षी दलको सहमतिपछि खड्काको एकल उम्मेदवारी कायम भएको बताइएको छ।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रमुख प्रतिपक्षी दललाई लेखा समिति सभापति दिन सहमति जनाएपछि खड्का निर्विरोध भएका हुन्। विपक्षी दलहरूको समर्थनसमेत प्राप्त भएपछि उनको चयन सर्वसम्मत रूपमा भएको हो।
डोटीबाट प्रत्यक्ष निर्वाचित खड्का लामो राजनीतिक अनुभव भएका नेता हुन्। उनी २०३२ सालमा नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघबाट राजनीति प्रवेश गरेका थिए।
उनले २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलको पक्षमा सक्रिय भूमिका खेलेका थिए भने २०३९ सालमा गाउँ पञ्चायतको प्रधानपञ्च, २०४४ सालमा जिल्ला पञ्चायत सभापति र २०५४ सालमा जिल्ला विकास समिति सभापतिसमेत भएका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएका खड्का २०७४ सालमा प्रदेशसभा सदस्यसमेत बनेका थिए।
पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा डोटीबाट विजयी भएका खड्का कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए। उनलाई पार्टी सभापति गगन थापाको सिफारिसमा उम्मेदवार बनाइएको बताइएको छ।