काठमाडौँ
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आफ्नो नियन्त्रणमा रहेका सवारीचालक अनुमतिपत्रसहितका झण्डै ९ हजार सक्कली कागजपत्र फिर्ता लैजान सर्वसाधारणलाई आग्रह गरेको छ। ट्राफिक नियम उल्लङ्घनका कारण जाँचका क्रममा लिइएका कागजात अझैसम्म सम्बन्धित धनीले नलिएको कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ लागू भएपछि विसं २०८० देखि हालसम्म जम्मा ८,९८२ वटा कागजपत्र संकलन भएको हो। तीमध्ये धेरैजसो कागजात तोकिएको समयमा जरिवाना नतिरेका सवारी चालक तथा धनीका रहेका छन्।
ट्राफिक प्रहरीले चौबीस घण्टे पूर्जी पाएर पनि जरिवाना दाखिल नगर्ने सवारी चालक तथा धनीलाई १० दिनभित्र कार्यालयमा उपस्थित भई कागजात फिर्ता लिन आग्रह गरेको छ। कार्यालयमा सवारीचालक अनुमतिपत्र, ब्लुबुक तथा मार्ग अनुमति पत्रजस्ता महत्वपूर्ण कागजात सुरक्षित राखिएको छ।
केही कागजात आगलागीजस्ता कारणले नष्ट भएको भए पनि त्यस्ता अवस्थामा नयाँ कागजात बनाउन आवश्यक सिफारिस उपलब्ध गराइने कार्यालयले जनाएको छ। त्यसका लागि सम्बन्धित व्यक्तिले राजस्व बुझाउनुपर्नेछ।
यस आर्थिक वर्षमा मात्रै २,२४८ वटा कागजपत्र नियन्त्रणमा लिइएको र तीमध्ये धेरै अझै लिन नआएको कार्यालयले उल्लेख गरेको छ। यदि १० दिनभित्र कागजात फिर्ता नलगे सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार एक महिनासम्म सवारी साधन सञ्चालनमा प्रतिबन्ध (निलम्बन) गरिने चेतावनी समेत दिइएको छ।