काठमाडौँ
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा तथा संयुक्त समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार हुने भएको छ। सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले जारी गरेको सूचनाअनुसार मनोनयन दर्ता दिउँसो १ बजेदेखि ४ बजेसम्म गरिनेछ।
सूचनामा उल्लेख गरिएअनुसार मनोनयन दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ। त्यस्तै, सोही दिन दिउँसो साढे ४ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। प्रतिनिधिसभा अन्तर्गत १० वटा र दुई संयुक्त समितिका सभापतिहरूको निर्वाचन हुन बाँकी रहेको छ।
यसअघि चैत २७ गते बसेको प्रतिनिधिसभा बैठकले विषयगत समितिहरूका सदस्यहरू चयन गरेको थियो। सोही बैठकमा सभामुख डोलप्रसाद अर्यालले आगामी वैशाख ४ गतेका लागि समितिका सभापतिहरूको निर्वाचन मिति तय गरेका थिए।
प्रचलित व्यवस्थाअनुसार सम्बन्धित समितिका कुनै एक सदस्यले प्रस्तावक र अर्को सदस्यले समर्थन गर्ने गरी सभापतिमा उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था रहेको छ।
