काठमाडौँ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (चैत मसान्त) सम्ममा सरकारले कुल बजेटको करिब ५४ प्रतिशत खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार, १९ खर्ब ६४ अर्ब रुपैयाँको कुल बजेटमध्ये चैतसम्म १० खर्ब ५९ अर्ब रुपैयाँ खर्च भएको छ।
खर्चको विवरणअनुसार सरकारको नियमित कार्य सञ्चालनका लागि गरिने चालु खर्च ७ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ, जुन यस शीर्षकका लागि विनियोजित ११ खर्ब ८० अर्बको ठूलो हिस्सा हो। तर, विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च भने अत्यन्तै न्यून देखिएको छ। ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरिएको पुँजीगततर्फ जम्मा ९६ अर्ब १९ करोड (२३.५८ प्रतिशत) मात्र खर्च भएको छ।
पश्चिम एसियामा जारी तनावका कारण बिटुमिन इन्धनको अभाव हुँदा सडक, पुल जस्ता पूर्वाधार निर्माण प्रभावित भएकाले पुँजीगत खर्च कम भएको कार्यालयले जनाएको छ। यस्तै, सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीका लागि २ खर्ब १६ अर्ब रुपैयाँ खर्च भएको छ। आम्दानीतर्फ सरकारले चैत मसान्तसम्म कुल ९ खर्ब ७ अर्ब रुपैयाँ संकलन गरेको छ।