काठमाडौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र चुनावी नतिजापछि आन्तरिक विवाद झन् चर्किएको छ। फागुन २१ को संघीय निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएको र नेतृत्वको कार्यशैली एकलौटी भएको आरोप लगाउँदै असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध मोर्चाबन्दी थालेका छन्।
यसै सन्दर्भमा आइतबार आयोजित असन्तुष्ट समूहको भेलामा महामन्त्री धवलशमशेर राणासहित दुई दर्जनभन्दा बढी नेताहरू सहभागी भएका थिए। भेलामा नेताहरूले अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको कार्यशैलीको कडा आलोचना गरेका छन्। नेता दिलनाथ गिरीले चुनावअघि पार्टीलाई पहिलो शक्ति बनाउने दाबी गरिए पनि नतिजा निराशाजनक आएको बताए। उनले चुनावपछि लामो समय बितिसक्दा पनि नेतृत्वले कुनै नैतिक जिम्मेवारी नलिएको भन्दै असन्तुष्टि जनाए।
असन्तुष्ट पक्षले उपसभामुख निर्वाचन प्रकरणलाई पनि विवादको मुख्य कारणका रूपमा औंल्याएको छ। उक्त निर्णय केन्द्रीय समिति वा कार्यसम्पादन समितिमा छलफल नै नगरी लिइएको भन्दै यसले पार्टीको सैद्धान्तिक आधारमै प्रश्न उठाएको उनीहरूको भनाइ छ।
विवाद बढ्दै जाँदा असन्तुष्ट समूहले अध्यक्ष लिङ्देनलाई सुधार वा पद त्याग गर्ने सन्देश दिँदै ३ बुँदे माग अघि सारेका छन्। उनीहरूले पार्टीलाई पुनर्जीवित गर्न अविलम्ब केन्द्रीय महाधिवेशन आवश्यक रहेको बताएका छन्।
उनीहरूको पहिलो मागअनुसार निष्पक्ष व्यक्तिको संयोजकत्वमा ‘महाधिवेशन आयोजक समिति’ गठन गर्नुपर्ने छ। दोस्रो, एक साताभित्र केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्नुपर्ने र तेस्रो, एकता महाधिवेशनपछि विधानविपरीत भएका गतिविधिको छानबिन गर्न समिति गठन गरी प्रतिवेदन आगामी महाधिवेशनमा पेश गर्नुपर्ने माग राखिएको छ।
पार्टीको म्याद थप भए पनि २०८३ जेठभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै असन्तुष्ट पक्षले माग सम्बोधन नभए थप कडा कदम चाल्ने चेतावनी दिएको छ। नेतृत्वको कार्यशैलीका कारण पार्टीका कार्यकर्ताको भविष्य नै संकटमा परेको भन्दै राप्रपाभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ।