काठमाडौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको संस्थापनइतर पक्ष पुनः सक्रिय हुँदै नेतृत्व परिवर्तनबारे छलफलमा जुटेको छ। पार्टीभित्र अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनमाथि राजीनामा दिन दबाब बढ्दै गएको बताइएको छ।
महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा संस्थापनइतर समूहको बैठक आइतबार काठमाडौँको कान्तिपथस्थित होटल यलो पगोडामा बसेको हो। बैठकमा अध्यक्ष लिङ्देनले राजीनामा दिई महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने विषयमा छलफल भएको एक नेताले बताएका छन्।
बैठकमा हालैको निर्वाचन परिणाम, पार्टीको नेतृत्व पुनर्संरचना, उपसभामुख पदमा उम्मेदवारी र पार्टी पदाधिकारीहरूको जिम्मेवारीबारे पनि विस्तृत छलफल भएको जनाइएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको कार्यसमितिको कार्यकाल गत मंसिरमै सकिए पनि महाधिवेशनको मिति अझै तय हुन सकेको छैन।
यसैबीच, पूर्व उपप्रधानमन्त्री प्रकाशचन्द्र लोहनीले निर्वाचनमा पराजयपछि नेतृत्वले राजीनामा दिनुपर्ने र तदर्थ समिति गठन गर्नुपर्ने धारणा राख्दै आएका छन्।