काठमाडौँ
‘विन्ध्यवासिनी म्युजिक अवार्ड’को १६औँ संस्करण सम्पन्न भएको छ। शुक्रबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा १२ विधामा अवार्ड तथा ५ विशिष्ट सम्मान प्रदान गरिएको हो।
‘परेली’ गीतबाट शिव परियार सर्वोत्कृष्ट गायक घोषित भएका छन् भने ‘के हेरेको टुलुटुलु’ गीतबाट समीक्षा अधिकारी सर्वोत्कृष्ट गायिका घोषित भएकी छन्। ‘मिर्मिरेमा बासेको भाले’ का लागि शिव हमाल उत्कृष्ट संगीतकार र ‘परदेशी हुनै मन छैन’ का लागि भुपेन्द्र बुढाथोकी उत्कृष्ट गीतकार बनेका छन्।
लोकदोहोरी विधामा ‘झलिको’ बाट अर्जुन सापकोटा उत्कृष्ट गायक र ‘झ्याप्पै आए बाहुन दाई’ बाट ज्योति मगर उत्कृष्ट गायिका घोषित भएका छन्। म्युजिक भिडियोतर्फ ‘कता हिँड्रयो साइला’ का प्रभात पल ठकुरी र गीता ढुंगाना उत्कृष्ट मोडल जोडी बने भने ‘मायालाई पानको पात’ बाट विक्रम चौहान उत्कृष्ट निर्देशक बने।
त्यस्तै ‘ए आमा जाम भन्यो मलाई’ बाट बुद्ध थापा उत्कृष्ट छायाँकार, ‘वैशले जुरुक्क पार्यो’ बाट दीपक विष्ट उत्कृष्ट म्युजिक भिडियो संगीतकार तथा ‘पैसा जोगाउन’ बाट रीतु बोहरा नवप्रतिभा अवार्डबाट सम्मानित भएकी छन्। सबै विधाका विजेतालाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा विशेष सम्मानसमेत प्रदान गरिएको थियो। वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई १ लाख रुपैयाँसहित विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८२ प्रदान गरियो।
त्यसैगरी गीतकार विजय शिवाकोटीलाई ५० हजार रुपैयाँसहित विन्ध्यवासिनी संगीत साधना सम्मान, गायिका रचना रिमाललाई २५ हजार रुपैयाँसहित प्रेमध्वज संगीत रत्न सम्मान, लोकगायक पशुपति शर्मालाई झलकमान लोक संगीत सम्मान तथा पत्रकार पवन आचार्यलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान प्रदान गरिएको छ।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रम गुरुआमाको समूहद्वारा प्रस्तुत नृत्यसहित रंगीन बनेको थियो। समीक्षा अधिकारी, रचना रिमाल र पशुपति शर्माको सांगीतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।
लाइफटाइम अचिभमेन्ट अवार्ड विजेता शम्भुजीत बासकोटाको सम्मानमा सुमनकुमार श्रेष्ठले उनका चर्चित गीतहरू प्रस्तुत गरेका थिए। विजय शिवाकोटीको सम्मानमा अजर जंगमले उनका सिर्जनाहरू प्रस्तुत गरी कार्यक्रमलाई थप उत्साहित बनाएका थिए।
फाउण्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले नेपाली सांगीतिक सर्जकहरूको सम्मान, संरक्षण र प्रोत्साहनका लागि यस्ता कार्यक्रम निरन्तर आयोजना हुँदै आएको बताएकी छन्।