काठमाडौँ
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठक एक साता लामो छलफलपछि पनि निष्कर्षमा पुग्न नसकी स्थगित भएको छ। फागुनमा भएको निर्वाचनमा अनपेक्षित पराजयपछि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत १९ गते बैठक आह्वान गरेका थिए।
बैठकमा प्रचण्डले १० पृष्ठ लामो चुनावी समीक्षा प्रतिवेदन पेस गरेपछि सदस्यहरूलाई अध्ययनका लागि केही दिन समय दिइएको थियो। त्यसपछि चैत २३ गतेदेखि पेरिसडाँडामा लगातार छ दिनसम्म प्रतिवेदनमाथि छलफल भएको भए पनि कुनै ठोस निर्णय हुन सकेन।
नेताहरूका अनुसार बैठकमा चुनावी परिणाम, पार्टीको रूपान्तरण, नेतृत्व हस्तान्तरण, संगठनात्मक एकता र भावी रणनीतिबारे व्यापक बहस भए पनि मतभेद कायमै रह्यो। केही नेताहरूले महाधिवेशनअघि एकता प्रक्रिया पूरा गर्नुपर्ने तर्क राखे भने केहीले महाधिवेशनमार्फतै संगठन पुनर्संरचना गर्नुपर्ने धारणा व्यक्त गरे।
नेता जगन्नाथ खतिवडाका अनुसार बैठक वैशाख ३ वा ४ गते पुनः बस्नेछ र त्यसपछि महाधिवेशनको मिति, कार्य विभाजन, केन्द्रीय सचिवालय गठन तथा पार्टी एकतालाई पूर्णता दिने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।
त्यस्तै, अर्का नेता गंगानारायण श्रेष्ठले बैठकमा वैचारिक तथा सैद्धान्तिक विषयमा पनि गहिरो छलफल भए पनि निष्कर्ष निस्कन नसकेको बताए। उनका अनुसार संगठनात्मक मोडालिटी, जिम्मेवारी बाँडफाँट र आगामी कार्यदिशाबारे नेताहरूबीच फरक–फरक धारणा देखिएको छ।
नेता प्रकाश ज्वालाले करिब ४० जना सदस्यले मौखिक र दुई जनाले लिखित धारणा प्रस्तुत गरेको जानकारी दिए। उनका अनुसार महाधिवेशनको मिति तय गर्ने, सचिवालय गठन गर्ने र कार्य विभाजन गर्ने विषयमा आगामी बैठकले निर्णय गर्न सक्नेछ।
यसअघि नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहित १० वाम घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा हाल २५ घटक समावेश भएका छन्। तर हालसम्म केन्द्रीय कार्य समिति र सचिवालय पूर्ण रूपमा गठन हुन सकेको छैन।