काठमाडौँ।
काठमाडौँको तारकेश्वर नगरपालिकामा भूमाफिया र जनप्रतिनिधिबीचको संगठित साँठगाँठका कारण जग्गा प्लटिङका नाममा करोडौँ रुपैयाँ राजस्व छली भइरहेको पाइएको छ। कागजमा न्यून क्षेत्रफल देखाएर कर तिर्ने र व्यवहारमा दोब्बर–तेब्बर जग्गामा प्लटिङ गर्ने प्रवृत्ति यहाँ संस्थागत बन्दै गएको छ।
नगरपालिकाको वडा नं. १ (साविक साँगला) मा करिब ३ रोपनी जग्गाको मात्र २ लाख ८८ हजार रुपैयाँ राजस्व तिरेर झण्डै १५ रोपनीभन्दा बढी क्षेत्रमा प्लटिङ गरिएको छ। यसबाट मात्रै करिब १२ लाख रुपैयाँ राजस्व छली भएको अनुमान गरिएको छ। त्यस्तै, वडा नं. ७ को खड्का भन्ज्याङ क्षेत्रमा मालपोत कार्यालयसँगको मिलेमतोमा १० कित्ताको सिफारिस लिएर ४० कित्तासम्म काटिएको र हलेसी महादेव मन्दिर आसपाससम्म अवैध रूपमा डोजर चलाइएको छ।

स्थानीयका अनुसार जनप्रतिनिधिहरू स्वयं आर्थिक प्रलोभनमा परेर सार्वजनिक जग्गा, खोलानाला र वन क्षेत्रको दोहनमा मद्दत गरिरहेका छन्। तारकेश्वरमा मात्र नभई काठमाडौँ उपत्यकाका १८ वटै पालिकाको तथ्याङ्क हेर्ने हो भने जग्गा प्लटिङका नाममा राज्यलाई अर्बौँको राजस्व छली भएको देखिन्छ। जनप्रतिनिधिहरूकै संरक्षणमा भइरहेको यो ब्रह्मलुट रोक्न र दोषीमाथि कडा कारबाही गर्न निष्पक्ष छानबिनको माग गरिएको छ।