काठमाडौँ
नेपाली काँग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा प्रतिनिधि नपठाई सरकारलाई पत्रमार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै कार्यदलमा सहभागी हुनुअघि केही विषयमा स्पष्टता आवश्यक रहेको जनाएका हुन्।
कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमार्फत कार्यदलको विधि, कार्यक्षेत्र, भूमिका र संशोधनका विषयवस्तु स्पष्ट पार्न सरकारसँग माग गरेको छ। संविधान संशोधन जस्तो संवेदनशील विषयमा व्यापक छलफल, सहमति र स्पष्ट अवधारणाबिना अघि बढ्न नहुने कांग्रेसको धारणा छ।
पत्रमा कांग्रेसले नेपालको संविधान ऐतिहासिक संघर्ष, आन्दोलन र सहमतिका आधारमा निर्माण भएको उल्लेख गर्दै यसको आधारभूत मूल्य–मान्यतामा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ। लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, मानवअधिकार र विधिको शासन जस्ता विषयलाई अझ सुदृढ बनाउने दिशामा मात्रै संशोधन हुनुपर्ने कांग्रेसको जोड छ।
कांग्रेसले संविधान संशोधन प्रक्रिया सहभागीमूलक, समावेशी र न्यायपूर्ण हुनुपर्नेमा पनि जोड दिएको छ। साथै, संघीय संसद्बाहिर रहेका दल, विभिन्न समुदाय र प्रदेश तथा स्थानीय तहको सहभागिताबारे सरकारको धारणा स्पष्ट हुनुपर्ने माग गरेको छ।
त्यस्तै, सरकार र नेतृत्वकर्ता दलको संविधानप्रतिको प्रतिबद्धता तथा संशोधनका प्राथमिकता विषय सार्वजनिक गर्नुपर्ने आवश्यकता कांग्रेसले औंल्याएको छ। यी विषयमा स्पष्टता आएपछि मात्रै कार्यदलमा सहभागी हुने विषयमा निर्णय लिने कांग्रेसले संकेत गरेको छ।
कांग्रेसले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई पारदर्शी, सहमतिमूलक र जिम्मेवार ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै सरकारको प्रयासमा आवश्यक सहयोग रहने जनाएको छ।