काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगत प्रसाद जोशीले कैलाली र कञ्चनपुर जिल्लाका मुक्त कमैया तथा कमलरीको पुनःस्थापनासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले सरकारले कमैया र कमलरी मुक्तिको घोषणा गरेको लामो समय बितिसक्दा पनि उनीहरूको समस्या अझै समाधान हुन नसकेको भन्दै परिचयपत्र वितरण कहिले हुने हो भन्ने प्रश्न उठाएका हुन्।
सांसद जोशीका अनुसार करिब १ हजार ५ सय मुक्त कमैया तथा कमलरी परिवार अझै पनि परिचयपत्रविहीन छन् र धेरैजसो परिवार भूमिहीन अवस्थामा जीवनयापन गर्न बाध्य छन्।
उनले तीमध्ये करिब ७ सय परिवार आफ्नै निर्वाचन क्षेत्र कैलाली–३ मा रहेको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरे।
२०५७ साउन २ गते तत्कालीन सरकारले कमैया मुक्तिको घोषणा गरेपछि दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ३२ हजार ५०९ जना कमैया मुक्त भएका थिए। तर, लामो समय बितिसक्दा पनि उनीहरूको पूर्ण पुनःस्थापना हुन नसकेको सांसद जोशीको भनाइ छ।