काठमाडौँ
राष्ट्रिय सभा अन्तर्गतका चार वटा समितिमा सभापति निर्विरोध चयन भएका छन्।
सङ्घीय संसद् सचिवालयले तोकेको समयसीमाभित्र प्रत्येक समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै सभापति निर्विरोध निर्वाचित भएका हुन्।
राजनीतिक दलहरूबीच भएको भागबण्डाअनुसार नेपाली कांग्रेसले दुई तथा अन्य दलहरूले एक/एक समितिको सभापति पाउने सहमति भएको थियो। सोही सहमतिअनुसार उम्मेदवारी दर्ता भएको हो।
नेपाली काँग्रेसका तर्फबाट विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा निर्वाचित भएकी छन् भने नेपाली कम्युनिष्ट पार्टीकी जयन्तीदेवी राई सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा चयन भएकी छन्।
यसअघि दलहरूबीच भएको सहमतिअनुसार समितिहरूको नेतृत्व चयन गरिएको हो।