काठमाडौँ
नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह के.सीले सत्तापक्षको सङ्ख्या जति धेरै भए पनि सदन विपक्षी भूमिकामा केन्द्रित हुनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनलाई सन्तुलित र प्रभावकारी बनाउन सभामुखको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
सांसद केसीले विगतका अभ्यासहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै संसद् सत्तापक्षको प्रभावमा मात्र सीमित हुन नहुने धारणा राखे। उनले सदनलाई स्वतन्त्र र सन्तुलित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।
उनले विपक्षी दललाई “आगोको झिल्को” को संज्ञा दिँदै सानो भए पनि त्यसको भूमिका महत्वपूर्ण हुने बताए। “आगोको झिल्को जतिसुकै सानो भए पनि त्यो झिल्को नै हुन्छ,” केसीले भने।
केसीले सदन कुनै एक पक्षको नियन्त्रणमा हुन नहुने भन्दै यसको स्वतन्त्रता र निष्पक्षता कायम राख्न सभामुखलाई विशेष ध्यान दिन आग्रह गरे।