काठमाडौँ
सरकारले इन्धन आपूर्तिमा देखिएको असहजता र विभिन्न प्रशासनिक तथा आर्थिक विषयलाई सम्बोधन गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार दुई दिने सार्वजनिक बिदा दिने निर्णय गरेको हो । साथै, सरकारी कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय पनि गरिएको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार पेट्रोलियम आपूर्ति समस्या समाधान र आर्थिक मितव्ययिता अपनाउने उद्देश्यले उक्त निर्णय गरिएको हो ।
बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा डिजिटल नेपाल ट्रान्सफरमेसन परियोजनाका लागि एशियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी कुल ९० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट ९५ मिलियन अमेरिकी डलर बराबरको थप सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय पनि गरिएको छ ।
मन्त्रिपरिषद्ले नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग तथा मातहत निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय पनि गरेको छ ।
त्यसैगरी, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धमेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरिएको छ ।
सरकारले डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
यसैगरी, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय समेत बैठकले गरेको छ ।