भलिबलको एउटै टिममा परिचारका चार जना सदस्य

Author

सजिलो पत्रिका

२०८२ चैत २२, आइतबार

21
Share
Featured

म्याग्दी, २२ चैतः यहाँको धवलागिरि गाउँपालिका-३ फलियागाउँको एउटा भलिबलटिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन् । बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव भलिबलका खेलाडी हुनुहुन्छ । दुई जना परिवार बाहिरका खेलाडीलाई थपेर विभिन्न ठाउँमा आयोजना हुने भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनीहरू ‘घरपरिवार भलिबल’ समूहका नामले चिनिन थालेका छन् ।

“बुबा सबहादुर सानैदेखि भलिबल खेल्दै आउनुभएको छ”, नरेशले भन्नुभयो, “हामी पनि बुबाको खेल कलाबाट प्रभावित भएर भलिबल खेल्न सिकेका र घरपरिवारकै टिम बनाएर प्रतियोगितामा खेल्न थालेका हौँ ।” कक्षा १२ उत्तीर्ण गरेका नरेशले बुबाको घोडा व्यवसायलाई सघाउँदै आउनुभएको छ । नवीन र केशव फलियागाउँको कक्षा १२ मा अध्ययनरत छन् ।

एकै किसिमका अग्लो र पातलो जिउडाल भएका सबहादुर र उहाँका छोरा भलिबल टिमको सेटर, रेज, लिब्रोलगायत सबै खेलाडीको भूमिका निभाउन सक्नुहुन्छ । घरपरिवार भलिबल समूहले हालै धवलागिरि गाउँपालिका-७ धारापानी र वडा नं २ खोरियामा आयोजित प्रतियोगितामा उपाधि जितेको छ । नवीन र केशवले धवलागिरि गाउँपालिकाले पछिल्लोपटक आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ तीन÷तीनवटा स्वर्ण पदक दिलाउँदै धजनता माविलाई विजयी बनाउन योगदान गर्नुभयो । नरेशले पनि धवलागिरि गाउँपालिकाको तर्फबाट प्रदेशस्तरीय भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाउनुभएको छ ।

नरेश र नवीनले प्रदेशस्तरीय दौड र ज्यावलिङ थ्रो प्रतियोगितामा पनि भाग लिनुभएको छ । केशवले गत माघमा जिल्ला भलिबल सङ्घले आयोजना गरेको म्याग्दी कप भलिबल प्रतियोगितामा उत्कृष्ट सेटरको उपाधि जित्नुभएको थियो । मध्यमवर्गीय पारिवारिक पृष्ठभूमि भएका सबहादुर कतारमा दुई वर्ष रोजगारी गरेर फर्कनुभएको हो । कतारबाट फर्किएपछि ढुवानी व्यवसायका लागि सबहादुरले घोडापालन गर्दै आउनुभएको छ । आठवटा घोडा पाल्नुभएका सबहादुर घोडामा बोकाएर तरकारी र फलफूल बिक्रीका लागि गाउँठाउँमा पनि पुग्ने गर्नुहुन्छ । फुर्सदको समय र मेलाजात्रामा उहाँहरूको टोली भलिबल प्रतिस्पर्धा गर्न जानुहुन्छ । उहाँहरूको खेल मन पराएर दर्शकले आर्थिक सहयोगका साथै पोशाक सहयोग गर्न थालेका छन् ।

मुना घर भई हाल अस्टे«लियामा रहेका इम रोकाले शनिबार रु २७ हजार मूल्यबराबरको जर्सी र ट्रयाक उपलब्ध गराउनुभएको छ । अमेरिकामा रहेका दलबल रोका, टेक रसाइली र अस्टे«लियाबाट ठहरबहादुर भण्डारीले पनि उनीहरूलाई जर्सी सहयोग गर्नुभएको छ । “सहयोगले हामीलाई भलिबल खेलमा निरन्तर सक्रिय हुन हौसला मिल्नुका साथै उत्साह पैदा भएको छ”, सबहादुरले भन्नुभयो, “शारीरिक अवस्थाले साथ दिँदासम्म भलिबल खेलमा निरन्तर सक्रिय रहनेछु ।”

यो समाचारमा

म्याग्दीभलिबल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज पनि स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । त्यस्तै, झापा, मोरङ, इलाम, सुनसरी,

    Data is loading...

    Loading brands...

    Loading footer...