काठमाडौँ
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले आफ्नो कार्यकक्षभित्र मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण लैजान निषेध गरेका छन्।
मन्त्री पौडेलले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्रीसँग खिचिएका तस्बिरहरूको दुरुपयोग भएको गुनासो बढेपछि यस्तो निर्णय गरिएको बताएका छन्। उनका अनुसार केही व्यक्तिले मन्त्रीसँग खिचिएका सौहार्दपूर्ण तस्बिरहरू देखाएर विशेष सम्बन्ध रहेको दाबी गर्दै सर्वसाधारण तथा सरकारी निकायबाट अनधिकृत लाभ लिन खोज्ने गरेका छन्।
यसप्रति गम्भीर ध्यानाकर्षण भएपछि त्यस्ता गतिविधि नियन्त्रण गर्न र मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित, मर्यादित तथा पारदर्शी बनाउन उक्त व्यवस्था लागू गरिएको उनले स्पष्ट पारेका छन्।
नयाँ नियम आजैदेखि लागू गरिएको जनाउँदै मन्त्री पौडेलले कार्यकक्षभित्र मोबाइल तथा अन्य विद्युतीय उपकरण लैजान पूर्ण रूपमा रोक लगाइएको बताएका छन्।
यस निर्णयका कारण आगन्तुक तथा कर्मचारीलाई पर्न सक्ने असुविधाप्रति उनले क्षमायाचनासमेत व्यक्त गरेका छन्।