काठमाडौँ
प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता राम बहादुर थापा (बादल)ले दिएको अभिव्यक्तिप्रति नेता सुरेन्द्र पाण्डेले आपत्ति जनाएका छन्।
पाण्डेले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै संसदमा प्रस्तुत विचारप्रति आलोचना गरेका हुन्। उनले संसदमा विभिन्न कारण देखाउँदै दोष अन्य पक्षमा थोपर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसलाई अनुचित ठहर गरेका छन्।
उनले आफ्नो टिप्पणीमा सेना, कर्मचारी तथा प्रविधिलाई दोष दिने शैलीको आलोचना गर्दै यस्तो प्रवृत्तिले वास्तविक समस्याबाट ध्यान मोड्ने बताएका छन्। पाण्डेका अनुसार समस्याको मूल कारण सरकारको अकर्मण्यता पनि भएकाले त्यसलाई स्वीकार गर्न आवश्यक छ।
त्यसैगरी उनले राजनीतिमा आफ्ना कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राख्ने र अतिवादतर्फ धकेल्ने काम नगर्न आग्रह गरेका छन्। उनले विभिन्न विषयमा छानबिन हुनुपर्ने भए पनि जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्न नहुने बताएका छन्।
पाण्डेले ‘घेराबन्दीमा परेको’ भन्ने राष्ट्रवादी राजनीतिक भाष्य पुरानो भइसकेको उल्लेख गर्दै अबको वास्तविक राष्ट्रवाद आर्थिक सुधारमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।