काठमाडौँ
टिकटकर तुलसा अधिकारीसहित १० जनाविरुद्ध हनी ट्र्यापमार्फत ६ करोडभन्दा बढी रकम असुलेको अभियोगमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले अधिकारीसहितका प्रतिवादीविरुद्ध ठगी, आपराधिक लाभ, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग दर्ता गरेको हो।
अभियोगपत्रअनुसार ललितपुरका एक अटोमोबाइल व्यवसायीलाई हनी ट्र्यापमा पारेर लामो समयसम्म ब्ल्याकमेल गर्दै ६ करोड ५२ लाख २९ हजारभन्दा बढी रकम असुल गरिएको उल्लेख छ। पीडितसँग शारीरिक सम्बन्धको भिडियो सार्वजनिक गर्ने धम्की दिँदै नगद, जिन्सी तथा विभिन्न शीर्षकमा रकम असुलिएको अनुसन्धानबाट खुलेको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा तुलसा अधिकारी र पीडितबीच २०७५ सालमा व्यावसायिक सम्बन्धमार्फत चिनजान भएको थियो। त्यसपछि भेटघाटका क्रममा शारीरिक सम्बन्ध स्थापित भएको र सोही विषयलाई ‘जबरजस्ती करणी मुद्दामा फसाइदिने’ भन्दै धम्की दिई बारम्बार रकम असुल गरिएको अभियोगपत्रमा उल्लेख छ।
अधिकारीले विभिन्न बहानामा पीडितबाट नगद रकम, सवारी साधन, महँगा मोबाइल, सुनका गरगहना तथा पसल सञ्चालनका लागि ठूलो रकम तिराएको खुलेको छ। बैंक स्टेटमेन्ट र बिलका आधारमा लाखौं रुपैयाँ बराबरका सामान तथा सेवामा खर्च गराएको प्रमाणसमेत संलग्न गरिएको छ।
यस प्रकरणमा निलिका (नेलिका) लामिछानेलाई प्रहरीले पक्राउ गरी साधारण जमानतमा रिहा गरिसकेको छ भने अन्य प्रतिवादीहरू मुकेश कुमार धानुका, दिल कुमारी लिम्बु, अशोक कुमार अग्रवाल, सपना वली, मेघनाथ बस्याल, प्रयास पोखरेल (कानो मामा), गंगा अधिकारी सुवेदी र ‘तुल्सा कलेक्सन प्रालि’सहित एक जना फरार रहेको उल्लेख छ।
अभियोगपत्रमा मुख्य योजनाकारका रूपमा तुलसा अधिकारीलाई देखाइएको छ, जो हाल चीनमा रहेको बताइएको छ। अनुसन्धानका क्रममा अवैध रूपमा आर्जित रकम विदेश पठाउन हुन्डी प्रयोग गरिएको तथा विभिन्न व्यक्तिका बैंक खातामार्फत रकम चीनसम्म पुर्याइएको खुलासा भएको छ।
प्रहरीका अनुसार अवैध रकमबाट वैदेशिक भ्रमण, महँगा वस्तु खरिद तथा व्यवसायमा लगानी गरिएको देखिएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत समेत कारबाहीको माग गरिएको छ। मुद्दामा ठगी तथा अन्य कसुरतर्फ ६ करोड ५२ लाखभन्दा बढी बिगो कायम गरिएको छ भने सम्पत्ति शुद्धीकरणतर्फ २१ करोडभन्दा बढी रकमको बिगो निर्धारण गरिएको छ।