काठमाडौँ
सुर्खेत प्रहरीले यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयबाट १६ जना बिचौलियालाई पक्राउ गरेको छ। उनीहरूलाई बिहीबार बिहान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालयबाट १० जना र मालपोत कार्यालय सुर्खेतबाट ६ जना गरी जम्मा १६ जनालाई पक्राउ गरिएको हो। उनीहरू सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण, जग्गा नामसारी तथा अन्य प्रशासनिक काम गरिदिने भन्दै अवैध रूपमा रकम असुल्दै आएको आरोप छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार सार्वजनिक सेवा प्रवाहमा अवरोध भएको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी सहायक निरीक्षक किशोर खत्रीको कमान्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये यातायात कार्यालयतर्फ दीपक बहादुर बि.क., इन्द्र बहादुर शाही, प्रदिप खड्का, रमेश दमाई, हरिप्रसाद देवकोटा र प्रभाकर शर्मा गौतम रहेका छन्।
त्यस्तै मालपोत कार्यालयतर्फ रोशमी तिवारी, लक्ष्मी शाही, कुसुम बुढा क्षेत्री, पार्वती योगी, पवित्रा न्यौपाने, दुर्गा शाही, सम्झना योगी, रोशनी शाही, निर्मला योगी र गीता सुनार रहेका छन्।
प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।