काठमाडौँ
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच सोमबार मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा प्रधानमन्त्री बालेनले मुलुकको वर्तमान बैंकिङ क्षेत्रका समस्या, रेमिट्यान्स आप्रवाह र बाह्य क्षेत्रको अवस्थाबारे चासो राखेका थिए।
भेटमा गभर्नर पौडेलले राष्ट्र बैङ्कका काममा आइपरेका अप्ठ्यारा र सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। सोही अवसरमा गभर्नरले गत चैत २४ गतेदेखि रिक्त रहेका दुई जना डेपुटी गभर्नरको नियुक्तिको विषय समेत उठाएका थिए। उनले समयमै नियुक्ति भए काम गर्न सहज हुने बताए पनि प्रधानमन्त्री बालेनले भने यस विषयमा खासै चासो नदेखाएको स्रोतले जनाएको छ।
हाल राष्ट्र बैङ्कमा कार्यरत १८ जना कार्यकारी निर्देशकमध्येबाट दुई जना डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ। यसका लागि गभर्नरले चार जनाको नाम सिफारिस गर्ने र सरकारले दुई जनालाई नियुक्त गर्ने प्रक्रिया रहेको छ। तर, एक महिनादेखि यी पदहरू रिक्त रहँदा केन्द्रीय बैंकको कार्यसम्पादनमा असर परिरहेको गभर्नरको भनाइ थियो।