काठमाडौँ।
नेपाली काँग्रेसको शेर बहादुर देउबा समूहको बैठक आज काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा बस्दैछ। १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको यो बैठक बिहान ११ बजे सुरु हुनेछ।
दुई दिनसम्म चल्ने यस बैठकमा मुख्य तीनवटा एजेन्डाहरूमा छलफल हुने निवर्तमान केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिएका छन्। बैठकमा गत २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणामको समीक्षा गरिनेछ। साथै, आगामी २८–३१ वैशाखका लागि तय गरिएको १५औं महाधिवेशनको कार्यतालिका, तयारी र सम्भावनाबारे पनि विस्तृत छलफल हुनेछ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुअघि तत्कालीन संस्थापन पक्षले महाधिवेशनको कार्यतालिका पारित गरिसकेको छ। यसै सिलसिलामा देउवा पक्षले आगामी १९ चैतमा आफ्नो पक्षका जिल्ला सभापतिहरूको भेला समेत बोलाएको छ। आजको बैठकले महाधिवेशनको तयारीका लागि थप रणनीति तय गर्ने अपेक्षा गरिएको छ।