काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सल्लाहकार समूह र सचिवालयमा निकटतम सहयोगीहरूलाई नियुक्त गरेका छन्। चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा कुमार बेन (व्यञ्जनकार) र प्रमुख राजनीतिक सल्लाहकारमा असीम शाहलाई नियुक्त गर्ने निर्णय गरेको हो।
प्रमुख सल्लाहकारमा नियुक्त बेन बालेन काठमाडौँ महानगरपालिकाको मेयर हुँदादेखि नै उनका मुख्य रणनीतिकार र सहयोगी रहँदै आएका छन्। राजनीतिक सल्लाहकारमा नियुक्त असीम शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद हुन्। बालेन र रास्वपा सभापति रवि लामिछानेबीचको राजनीतिक सहकार्य र वर्तमान सत्ता समीकरण निर्माणमा बेन र शाहको भूमिका निर्णायक मानिन्छ। उनीहरूकै समन्वयमा भएका विभिन्न छलफलले वर्तमान राजनीतिक यात्राको आधार तयार पारेको थियो।
यसैगरी, प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा र आईटी सल्लाहकारमा विवेक मिश्र नियुक्त भएका छन्। आफ्नो 'कोर टिम' लाई नै बालुवाटारमा महत्त्वपूर्ण जिम्मेवारी दिएर प्रधानमन्त्री बालेनले सरकारको कार्यसम्पादनलाई प्रभावकारी र परिणाममुखी बनाउन खोजेका छन्।