काठमाडौँ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले नेपालमा स्वास्थ्य सेवा र औषधिको उच्च लागतका कारण वार्षिक करिब पाँच लाख नेपाली गरिबीको रेखामुनि धकेलिने गरेको बताएकी छन्। मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकले स्वास्थ्य उपचारमा गर्ने कुल खर्चको झन्डै ६० प्रतिशत रकम औषधिमै खर्च हुने गरेको उल्लेख गरिन्।
डा. कार्कीले २०३५ सालमा बनेको पुरानो औषधि ऐन अहिलेको समय अनुकूल नभएकाले तत्काल संशोधन गर्नुपर्नेमा जोड दिइन्। कम गुणस्तरका औषधि वितरण र फितलो नियमनलाई 'गम्भीर अपराध' भन्दै उनले यसमा संलग्नलाई कडा कारबाही हुनुपर्ने धारणा व्यक्त गरिन्। नेतृत्वमा इच्छाशक्ति नहुँदा र अनैतिक खेलका कारण स्वास्थ्य क्षेत्रका धेरै नीतिहरू लामो समयदेखि थन्किएर बसेको उनको आरोप छ।
अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले स्वास्थ्य क्षेत्रमा 'सेवक' को भूमिका निर्वाह गर्ने दाबी गर्दै उनले काम नगर्ने परिषद् र समितिहरूलाई खारेज गरी नयाँ संरचना बनाइने जिकिर समेत गरिन्। उनले औषधि र स्वास्थ्य सेवा दुवैलाई गुणस्तरीय र सर्वसुलभ बनाउनु आफ्नो प्राथमिकता रहेको बताइन्।