काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवैको अवस्था निराशाजनक देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार सरकारले वार्षिक लक्ष्यको ८०.५५ प्रतिशत मात्र खर्च गर्न सकेको छ भने आम्दानी ८३.५१ प्रतिशतमा खुम्चिएको छ।
कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटमध्ये असार मसान्तसम्म १५ खर्ब ८२ अर्ब १६ करोड मात्र खर्च भएको छ। विशेषगरी विकास निर्माणसँग जोडिएको पुँजीगत खर्च निकै कमजोर देखिएको छ। ४ खर्ब ७ अर्ब विनियोजन गरिएकोमा जम्मा १ खर्ब ९० अर्ब ८४ करोड (४६.७९ प्रतिशत) मात्र खर्च भएको छ। चालु खर्च भने लक्ष्यको ८८.४ प्रतिशत (१० खर्ब ४३ अर्ब ९९ करोड) भएको छ।
आम्दानीतर्फ पनि सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेन। १५ खर्ब ३३ अर्ब राजस्व उठाउने लक्ष्य राखिएकोमा १२ खर्ब ८० अर्ब ६५ करोड (८३.५१ प्रतिशत) मात्र सङ्कलन भएको छ। त्यस्तै, ५३ अर्ब ४४ करोड वैदेशिक अनुदान भित्र्याउने लक्ष्य लिइएकोमा ५८.५ प्रतिशत अर्थात् ३१ अर्ब २६ करोड मात्र प्राप्त भएको छ। वित्तीय व्यवस्थातर्फ भने ९२.५६ प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।