काठमाडौँ।
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। उनले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार चुनावी अभियानमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ।
विवरणअनुसार सबैभन्दा बढी खर्च १५ दिनसम्म सञ्चालन गरिएको वडास्तरीय घरदैलो कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँ भएको छ। यस्तै, सवारी साधन र इन्धनमा २ लाख ९३ हजार ८००, प्रचार सामग्री (फ्लेक्स, ब्यानर, स्टिकर) मा २ लाख ७६ हजार, र क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा १ लाख २० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
अन्य खर्चहरूमा हवाई भाडा ३५ हजार, खाजा खर्च २८ हजार, नमुना मतपत्र छपाइ ४९ हजार र स्टेशनरीमा २२ हजार रुपैयाँ खर्च भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को प्रावधानअनुसार उनले यो विवरण आयोगमा पेश गरेका हुन्। बालेनले सो क्षेत्रमा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरेका थिए।