काठमाडौँ।
झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फ पनि पहिलो शक्ति बनेको छ। सोमबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार रास्वपाले ६२ हजार २५८ मत प्राप्त गर्दै स्पष्ट अग्रता हासिल गरेको हो।
समानुपातिकतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) १७ हजार ६२३ मतसहित दोस्रो स्थानमा खुम्चिएको छ। त्यस्तै, श्रम संस्कृति पार्टी १० हजार ६७३ मतसहित तेस्रो, नेपाली कांग्रेस ४ हजार ७६२ मतसहित चौथो र नेपाल कम्युनिष्ट पार्टी १ हजार ९८७ मतसहित पाँचौँ स्थानमा रहेका छन्। राष्ट्रिय जनमोर्चाले भने मात्र ८ मत प्राप्त गरेको छ।
यसअघि प्रत्यक्षतर्फ रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई करिब ५० हजारको भारी मतान्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेका थिए। झापा–५ मा कुल १ लाख ७ हजार २०१ मत गणना भएकोमा २ हजार ९१२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। यो नतिजासँगै एमालेको बलियो गढ मानिने झापा–५ मा रास्वपाले आफ्नो पूर्ण वर्चस्व स्थापित गरेको छ।