काठमाडौँ।
चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकाल भारी मतान्तरसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। शनिबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार ढकालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई ४५ हजार १७५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
ढकालले ५८ हजार २०८ मत प्राप्त गर्दा कांग्रेसका बुर्लाकोटीले १३ हजार ३३ मत मात्र पाए। ढकाल यसअघि २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।
यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दावा दोर्जे लामाले १० हजार ८९९ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका कृष्ण पन्तले ४ हजार ८१ र राप्रपाका बलराम खनालले २ हजार ३०२ मत प्राप्त गरेका छन्। ढकालको यो जितले चितवनमा रास्वपाको बलियो पकडलाई पुनः पुष्टि गरेको छ।