काठमाडौँ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका उम्मेदवार विष्णु बहादुर खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेकपा (एमाले) का उम्मेदवार ध्रुवबहादुर शाहीलाई ८ हजार ७ मतको अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार खड्काले २६ हजार ८९७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी शाहीले १८ हजार ८९० मत पाए। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर सिंह ठकुरी १४ हजार ७२९ मतसहित तेस्रो स्थानमा रहेका छन्।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जितबहादुर रानाले २ हजार ८२८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवि हमाल ठकुरीले १ हजार ४९ मत प्राप्त गरेका छन्। खड्काको यो जितसँगै सुर्खेत–१ मा कांग्रेसले आफ्नो वर्चस्व कायम गरेको छ।