काठमाडौँ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सरकारले चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मदिरा निषेध गर्ने निर्णय गरेको हो।
यसैगरी, निर्वाचन सुरक्षा योजनाअनुसार यही फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन (मौन अवधि सुरु हुनेछ)। गृह मन्त्रलयले यस अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई कडा निर्देशन दिएको छ।
निर्वाचन आयोगका अनुसार, सुरक्षा समितिको सिफारिसमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन यस्तो कदम चालिएको हो। जिल्ला आचारसंहिता अनुगमन समितिलाई सक्रिय बनाउँदै आचारसंहिता, २०८२ को दफा १७ र १८ विपरीतका गतिविधि गर्नेलाई तत्काल प्रचलित कानुनबमोजिम कारबाही गर्न भनिएको छ। फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।