काठमाडौँ।
नेपाली काँग्रेसका पूर्वसभापति तथा पाँच पटकका प्रधानमन्त्री शेर बहादुर देउबा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रक्रियाबाट पूर्णतः बाहिरिएका छन्। विशेष महाधिवेशनबाट नेतृत्व गुमाएका र वर्तमान सभापति गगन थापाबाट टिकट नपाएका देउवाले यसपटक मतदान समेत नगर्ने भएका हुन्।
२०४८ सालदेखि लगातार सात पटक चुनाव जितेको आफ्नो निर्वाचन क्षेत्र डडेलधुरामा समेत देउवा नजाने भएका छन्। देउवाको सचिवालयका अनुसार स्वास्थ्य र सुरक्षाको कारण देखाउँदै उनी डडेलधुरा नजाने निर्णयमा पुगेका हुन्। यद्यपि, यसको भित्री कारण पार्टी नेतृत्वसँगको तीव्र असन्तुष्टि रहेको बुझिएको छ।
'बदलिएको कांग्रेस' का पदाधिकारीहरूले देउवालाई चुनावी अभियानमा समेट्न र रुख चिह्नमा भोट माग्न अपिल जारी गराउन खोजे पनि उनले अस्वीकार गरेका छन्। देउवाको सचिवालयले भनेको छ, "जसले देउवाको अनुहार देखाएर चुनाव लड्दा हारिन्छ भन्दै पार्टी कब्जा गरे, अहिले उनीहरूलाई नै देउवा किन चाहियो?"
डडेलधुरामा देउवाको स्थानमा उनकै निकट मानिने नैनसिंह महर उम्मेदवार छन्। महरले देउवालाई जिल्ला लैजान गरेको प्रयास समेत असफल भएको छ। देउवा पक्षीय नेताहरू अहिले चुपचाप बसे पनि फागुन २१ को निर्वाचन लगत्तै पार्टीभित्र कानूनी र राजनीतिक रूपमा निर्णायक लडाइँ सुरु गर्ने रणनीतिमा रहेका छन्।